काठमाडौं । नेपाली अल्ट्रा धाविका सिर्जना राईले हङकङमा आयोजना भएको गोर्खा ट्रेल ब्लेजरमा स्वर्ण जितेकी छिन् । संखुवासभाकी सिर्जनाले २६ किलोमिटरमा उमेर समूहतर्फ स्वर्ण जितेकी हुन् ।
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा भएको प्रतियोगितामा सिर्जनाले निर्धारित दुरी ४ घण्टा ७ मिनेट २४ सेकेन्डमा पुरा गरिन् । सिर्जना महिलातर्फ भने छैटौं स्थानमा रहिन् । समग्रमा सिर्जना ३२ औं स्थानमा रहिन् । दौडमा क्रममा जुत्ता नमिलेपछि सिर्जनाले केहि खाली खुट्टा दौडिएकी थिइन् ।
पछिल्लो समय अल्ट्रा दौडमा निकै राम्रो प्रदर्शन गरिरहेकी सिर्जनाले नेपालमा भएको अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) मा समेत स्वर्ण जितिसकेकी छिन् ।
२६ किमीको महिलातर्फको उपाधि बेलायतकी जिन विलियम जितिन । यस्तै जर्मनीकी एन्जिलिका हान दोस्रो र फ्रान्सकी चर्लोटे टाकिट तेस्रो स्थानमा रहिन् ।
१२ किमीको पुरुषतर्फको उपाधि बेलायतका रायन व्हेलले जिते । उनले निर्धारित दुरी १ घण्टा १ मिनेट ४८ सकेन्डमा पुरा गरेका थिए । यस्तै गोर्खा ब्लडका सुजन लिम्बूले निर्धारित दुरी १ घण्टा ११ मिनेट ४८ सकेन्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गरे । निङलेखु कुमारले १ घण्टा १४ मिनेट १० सेकेन्डमा पुरा गरेर तेस्रो स्थान हासिल गरे ।
प्रतियोगितामा ३० भन्दा बढी देशका ४०० बढी अल्ट्रा खेलाडीहरुले सहभागिता जनाएका थिए ।
तस्विर : आयोजक