अर्जुन काफ्ले
पथरी, मोरङ। स्थायी संरचनाको अभाव झेलिरहेका पथरीशनिश्चरेका ब्याडमिन्टन खेलाडीहरूले टेन्टबाट निर्माण गरिएको गोदाम घरलाई नै कर्भडहलका रूपमा प्रयोग गरिरहेका छन्।
भुटानी शरणार्थी शिविरमा बसोबास गरिरहेका शरणार्थीलाई खाद्यान्नका लागि प्रयोग गरिरहेको गोदाम घर नै अहिले खेलाडीहरूका लागि अस्थायी ब्याडमिन्टन कर्भडहल बन्न पुगेको हो।
शिविरभित्र बसोबास गरिरहेका शरणार्थीलाई दाल, चामल तथा तरकारी संकलन र वितरणका लागि विश्व खाद्य कार्यक्रमले टेन्टबाट यो अस्थाई गोदाम बनाएको थियो। शरणार्थीहरू तेस्रो देश पुनर्वाससँगै खालि भएको गोदामलाई पथरी नगरभित्रका ब्याडमिन्टन खेलाडीहरूले कर्भडहलका रूपमा प्रयोगमा ल्याएका हुन्।
छिमेकी पालिकाहरू लेटाङ, बेलबारी,उर्लाबारीमा कर्भडहल छन्। तर, पथरीशनिश्चरे कर्भडहल नहुँदा ब्याडमिन्टन रुचि राख्नेहरूले खेलाडीहरूले पथरी शरणार्थी शिविरमा रहेको टेन्टलाई इलाका प्रहरी कार्यालयको हातामा ल्याएर प्रयोग गरिरहेका छन्।
स्थानीय छवि घिमिरेले कर्भडहलको आवश्यकता रहे पनि कसैले चासो नदिएको बताए। टेन्टबाट निर्माण गरिएको सो गोदामलाई अहिले अस्थायी कर्भडहलका रूपमा प्रयोग गरिए पनि च्यातिन थालेको उनले सुनाए।
टेन्ट सिलाएर काम चलाउँदै गरेको खेलाडी सुमन कुरुम्बाङ्ग बताउँछन्। खेलाडीहरूले रकम संकलन गरेर सो स्थानमा विद्युतको व्यवस्था मिलाएका छन्। ‘स्तारिय प्रतिस्पर्धाका लागि छिमेकी पालिका धाउनुपर्ने बाध्यता छ। यहाँ नगरमा कर्भडहल नहुँदा समस्या मात्रै छैन छिमेकी पालिका पुग्नुपर्ने समस्या पनि छ,’ कुरुङ्खबाङ्खले खेलपाटीसँग भने।
नगरबाट ब्याडमिन्टन खेलका माध्यमबाट दर्जन बढी खेलाडीले जिल्ला र प्रदेशस्तरिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर विभिन्न पदकसमेत जितिसकेका छन्। तर, नगरभित्र कर्भडहलकै अभावमा स्तरीय प्रतियोगिता भने गर्नसमेत सकिएको छैन। स्तरीय प्रतियोगिता नहुँदा नयाँ खेलाडीसमेत उत्पादनमा समस्या भएको छ।
‘ब्याडमिन्टन खेलका लागी बन्द कोठा अवश्यकता पर्छ। यसका लागि स्थायी संरचना भए मात्र सहज हुन्छ। तर, हामीले त दुख जिलो गरेर खेल खेलिरहेका छौं.’ खेलाडी सनम मगरले भने।