पोखरा। बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन्। उनले बोइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको बोइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे। कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो भए।
गर्ल्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन्। उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन्। बागमतीकाद्वय सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रूपमा तेस्रो भए।
टेबल टेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ। ५ स्पर्धा समावेश टेबल टेनिसमा बागमतीले पाँचै स्वर्ण जित्न सफल भयो। दोस्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो।
विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा र टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कृत गरे। दुई दिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ बोइज/गर्ल्स गरी ५६ खेलाडी सहभागी थिए।