पोखरा। बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बुधबार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको बोइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीका रिजन शाक्य र एरिश शाक्यको जोडीलाई ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा पराजित गरे । लुम्बिनीका सुविन क्षेत्री र सुविन थापा तथा गण्डकीका दीपनिशान शाही र स्वर्णिम तिम्सिनाको जोडी तेस्रो भए ।
गर्ल्स डबल्सको उपाधि भिडन्तमा सुरम्यले नर्मदा खाइतुको जोडीसँग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराए । लुम्बिनीका सचिना पुरी र राशि बराल तथा गण्डकीका राजश्री अधिकारी र सक्रिय पोखरेलको जोडी तेस्रो बने ।
मिक्स डबल्सको फाइनलमा जयस्नु र सुरम्यको जोडीले बागमतीका रिजन शाक्य र नर्मदा खाइतुको जोडीलाई ८–११, ११–५, ९–११ र ११–८ र ११–७ को सेटमा पाखा लगाए । कोशीका गौतम तामाङ र सुलेखाकुमारी ठाकुर तथा लुम्बिनीका सुविन क्षेत्री र सचिना पुरीको जोडी तेस्रो स्थानमा रहे ।
सातै प्रदेशबाट समान २८–२८ बोइज/गर्ल्स गरी ५६ खेलाडी सहभागी छन् । टेबल टेनिसमा ५ स्वर्णका प्रतिस्पर्धा भइरहेको छ । बाँकी २ स्पर्धा बोइज/गर्ल्सको सिंगल्स फाइनल बिहीबार हुनेछ ।