पोखरा। गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार सात गते पोखरामा सुरु हुने भएको छ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले जानकारी दिएका छन्।
नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिव दुई वर्ष पछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै अध्यक्ष पाठकले उक्त प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता हुने बताए।
करिब १४ लाख खर्च हुने प्रतियोगितामा विजेता टिमलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टिमलाई १५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।
उक्त प्रतियोगितबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा खेलाडी छनोटसमेत गर्ने तयारी भइरहेको अध्यक्ष पाठकले बताए। प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ।