आठौँ एनभिए भलिबल आजदेखि, पहिलो दिन ६ खेल

काठमाडौं। नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आज (शनिबार)बाट शुरू हुँदैछ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आयोजना हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल हुनेछ।
आज हुने पहिलो खेलमा बिहान ९ बजे हेल्प नेपाल र बूढानीलकण्ठ भलिबल क्बलबीच हुनेछ। दोस्रो खेल बिहान ११ बजे विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम स्पोर्ट्स क्लबबीच हुनेछ। तेस्रो खेल दिउँसो १ बजे अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघबीच हुनेछ।
यस्तै, प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो ३ बजे महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली एपीएफ क्लबबीच हुनेछ । उद्घाटन खेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेपसदस्य सचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठलगायतको सहभागिता रहनेछ।
जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ आठ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्नेछन् । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ ।