काठमाडौं । पेरिस ओलम्पिकमा छनोट भएका प्रिन्स दाहालले श्रीलंकामा तयारी गर्ने भएका छन् । ओलम्पिक तयारीका लागि प्रिन्स आइतबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन् ।
प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन् । उनको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ । उनलाई इन्डोनेसियाको राष्ट्रिय टिम समेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिने छन् ।
प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भइसकेका छन् । प्रिन्ससंगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जन पनि श्रीलंका जाने छन् ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।
सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘टे«निङ प्लान’ पेश गर्न निर्देशन दिदै नेपाली प्रशिक्षकको पनि स्तरबृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससंगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिए ।
‘ओलम्पिक यात्रासम्म प्रिन्सका लागि के गर्नु पर्छ । सम्पूर्ण विवरण समेटेर ‘ट्रेनिङ प्लान’ परिषद्मा पेश गर्नु होला । परिषद्ले सक्दो सहयोग गर्ने छ ।’ सदस्य–सचिव घिसिङले भने ‘प्रिन्ससंगै प्रशिक्षकलाई पनि पठाउनुको उद्देश्य प्रशिक्षकले पनि सिक्ने अवसर प्राप्त गरुन् भन्ने हो । त्यहाँ सिकेको सिपले नेपाली खेलाडीलाई लै फाइदा पुग्ने हो ।’