पोखरा। जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। माछापुच्छ्रे गुराँसे भूमि घाचोकलाई ३–१ को सेटमा पराजित गर्दै जनकल्याण उपाधिनजिक पुगेको हो।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा खेलमा जनकल्याणले पहिलो सेट २५–१९ ले जिते पनि दोस्रो सेट २०–२५ ले गुमाएको थियो।
तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जनकल्याणले २५–१३ र २५–२१ ले जितेको हो। जनकल्याणका भुपेन गुरुङ म्यान अफ द म्याच घोषित भए।
दोस्रो सेमिफाइनल खेल जीभीपी युके लन्डन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघबीचको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको भलिबल संयोजक लामा अमृत गुरुङले जानकारी दिए। दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुने संयोजक गुरुङले बताए। फाइनल खेल शनिबार नै हुनेछ।
लिग कम नकआउटको आधारमा ९ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’बाट जनकल्याण पोखरा–११ समूह विजेता र माछापुच्छ्रे गाउँपालिका भलिबल संघ समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए।
समूह ‘बी’बाट जीभीपी युके लन्डन समूह विजेता र माछापुच्छ्रे गुराँसे भूमि घाचोक समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।