पोखरा। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ।
पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो।
महिला, पुरुष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए। प्रतियोगिताको रुट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए। उनकाअनुसार पुरुषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
पोखरा–१७ पावर हाउसबाट शनिबार बिहान प्रतियोगिता शुरू हुनेछ। पावर हाउसबाट शुरू हुने दौड महत गौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदी पाटन–खस्र्याङ–निर्मल पोखरी–फेदी पाटन–दम्सादी हुँदै पावर हाउस आएर टुंगिने छ। प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरुष खेलाडीले क्रमशः ५०/५०, ३०/३० र २०/२० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए। चौथो र पाँचौँ हुनेले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन्।