काठमाडौँ। गोल्डेनपिक, भ्याली पब्लिक र सेबले सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्।
थ्री बाइ थ्रीको सिनिअर ब्वाइजमा गोल्डेनपिक तथा गर्ल्समा भ्याली पब्लिक च्याम्पियन बनेका हुन्। सेब जुनिअर ब्वाइज उपाधि (फुल कोर्ट) जित्न सफल भयो।
वसुन्धराको नमुना टोलस्थित आयोजक वसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनिअर ब्वाइजको फाइनलमा गोल्डेनपिकले टीआईएलाई १९–१८ ले पराजित गर्यो। सिनिअर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १३–१० ले हरायो।
जुनिअर ब्वाइजको फाइनलमा सेबले एन्जल्स हार्टमाथि २३–२२ को कठिन जित दर्ता गर्यो। सेबका जीवन खत्रीले ९ अंक जोडे।
सिनिअर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनिअर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनिअर ब्वाइजमा जीवन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनिअर ब्वाइजमा सारथि पाठशाला, सिनिअर गर्ल्समा नेचर बोर्डिङ स्कुल र जुनिअर ब्वाइजमा न्युटन हाइ स्कुल अनुशासित टिम बने।
जुनिअर ब्वाइजमा २ छुट्टै विधागत उत्कृष्टको ट्रफी पनि प्रदान गरिएको थियो। एन्जल्स हार्टका अदित पुन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ तथा बीएनएका सिद्धान्त शर्मा (६० अंक) सर्वाधिक स्कोर भए।