काठमाडौँ। वसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा जम्मा ४५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले जानकारी गराए ।
सिनिअर ब्वाइजमा २०, सिनिअर गर्ल्समा १३ तथा जुनिअर ब्वाइजमा १२ टिमको सहभागिता रहने बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले बताए । सिनिअर ब्वाइज र गर्ल्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरूपमा हुनेछ । तीनै विधाका सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
सिनिअर ब्वाइजमा ग्रिनल्यान्ड तथा जुनिअर ब्वाइजमा गोल्डेनपिक डिफेन्डिङ च्याम्पियन हुन् । सिनिअर गर्ल्सको थ्री बाइ थ्री पहिलोपटक हुन लागेको हो ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बीएनएका स्कुल कोर्डिनेटर सन्तोष फुयाँले जानकारी दिए । प्रतियोगिताका खेलहरू वसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
पहिलो दिन सिनिअर ब्वाइजमा २० तथा जुनिअर ब्वाइजमा ३ गरी जम्मा २३ खेल हुनेछ । २०७१ सालदेखि सुरु भएको प्रतियोगिताको २ संस्करण कोभिडका कारण रोकिएको थियो ।