काठमाडौँ। गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थान हासिल गर्दै प्रथम प्रज्ञा स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
दोस्रो चरणमा प्रवेश गर्ने क्रममा गोकर्णेश्वरले लिखु तामाकोशी गाउँपालिकालाई २५–२०, २५ ,१६ तथा बेथानचोक गाउँपालिकालाई २५–१७, २५–१९ ले हराएको हो। सो समूहमा समान दुई जितसहित माडी नगरपालिकाले गोकर्णेश्वरलाई पछ्याएको छ।
माडी र गोकर्णेश्वरले समान प्रतिद्वन्द्वीलाई हराएपनि गोकर्णेश्वरले दुवै खेल सोझो सेटमा तथा माडीले अन्तिम सेटमा जितेका हुन्। अर्को समूहमा मकवानपुरको बागमती गाउँपालिका बलियो अवस्थामा छ।
बागमतीले समूहमा रहेका खाँडादेवी गाउँपालिका र मनौती नगरपालिकालाई हराएको हो। पनौतीले तीन वटै खेलमा पराजयको सामना गरेको छ। खाँडादेवी गाउँपालिकाले पनि दुई जित हात पारेको छा। खाँडादेवीले तारकेश्वर नगरपालिका र पनौतीलाई हराएको हो। सो समूहमा बागमती र खाँडादेवी बलियो अवस्थामा छन्।
यसैगरी, थाहा नगरपालिका पनि दोस्रो चरणनजिक पुगेको छ। थाहाले समूहको दुवै खेलमा जित हात पारेको हो। सो समूहमा रहेको घरेलु टोली महाकाल बी दुवै खेलमा पराजित भएको छ। सो समूहमा रहेका ह्याङ्ले गाउँपालिका र भरतपुर नगरपालिकाले एक जित हात पारेका छन्।
हेटौँडा महानगरपालिकाले २ जित हात पारेको छ। सो समूहमा रहेका जुगल गाउँपालिका र महाकाल गाउँपालिकाले समान १ जित हात पारेका छन्। खानीखोलले कुनै जित हात पार्न सकेको छैन।
लिग कम नकआउटको आधारमा जारी प्रतियोगिताको पहिलो चरणमा समूहमा शीर्ष दुई स्थान पाउने टोली क्वार्टरफाइनल प्रवेश गर्ने छन्।