धुलिखेल। छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित हासिल गरेका छन्।
आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेशले १–१ गोलको बराबरी खेले। सुदूरपश्चिमका लागि खेलको १४औँ मिनेटमा सञ्जु चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाइन्।
सुदूरपश्चिमले आफ्नो अग्रता अन्तिमसम्म जोगाउन सकेन। खेलको ३४औँ मिनेटमा भूमिका कुमारीले मधेसका लागि गोल गर्दै टिमलाई बराबरीमा राखिन्।
आइतबार नै भएको दोस्रो खेलमा गण्डकीले बागमती प्रदेशले प्रदेशलाई ६–० गोल अन्तरले हराएको हो। गण्डकी प्रदेशका लागि खेलको छैटौँ मिनेटमा सीतामाया बलले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। ३६औँ मिनेटमा गीता पुन मगरले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाइन्।
३७औँ मिनेटमा सीतामाया पुनले गोल गर्दै गण्डकी टिमलाई ३–० गोलको अग्रता दिलाइन्। ४५औँ मिनेटमा ज्योति काफ्लेले गोल गर्दा गण्डकीले ४–० गोलको अग्रता बनायो।
ज्योतिले नै खेलको ५३औँ मिनेटमा गोल गर्दा गण्डकीले ५–० गोलको अग्रता बनायो। त्यसको एक मिनेटपछि ह्याट्रिक गर्दै गण्डकीलाई ६–० गोलको जित दिलाइन्।
तेस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८–० गोल अन्तरले हराएको हो। सुदूरपश्चिमका लागि खेलको सञ्जु चौधरीले ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरिले २/२ गोल गरिन्। त्यस्तै, पूर्णिमा उराको नाममा १ गोल रह्यो।
आइतबार भएको अन्तिम खेलमा आर्मी क्लबले बागमती क्लबलाई ९–० गोल अन्तरले हरायो। आर्मीका लागि सरस्वती तामाङले ४ गोल गरिन्। त्यस्तै, सीमा खड्काले २ गोल गर्दा डम्मरा भट्ट, ममता भट्ट र सुनिता नेगीले १/१ गोल गरिन्।
प्रतियोगिता अन्तर्गत सोमबार ४ खेलहरू हुनेछन्। प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाणपत्र प्राप्त गर्ने छन्।