काठमाडौँ। आठौँ प्रधानमन्त्री कप/एनभीए पुरुष तथा महिला भलिबल लिग जेठमा हुने भएको छ। जेठ १९ गतेदेखि शुरू हुने प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
गत चैतमा काठमाडौँमा भएको आठौँ आरबीबी/एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टिम छनोट गरिएको हो। पुरुषमा शीर्ष ८ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुने छन्।
पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको सहभागिता रहने छ।
महिलामा पुलिस, एपीएफ, न्यू डायमन्ड, आर्मी, एभरेस्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेशले खेल्ने छन्। पुरुषमा टिपटप र महिलामा पुलिस डिफेन्डिङ च्याम्पियन हुन्।
पुरुष/महिलामा सहभागी टिमले राउन्ड रोविन लिगमा एक आपसमा खेल्ने छन्। शीर्ष २ स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्ने छन्।
पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ।
विधागत उत्कृष्टतर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही २० हजार नगदसहित पुरस्कृत गरिने छ। उपत्यका बाहिरका टिमलाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराइने छ।
उपत्यकाका टिमको हकमा खाजा खर्चबापत प्रत्येक दिन प्रत्येक खेलाडीलाई जनही २ सय ५० रुपैयाँ प्रदान गरिने छ।प्रतियोगिताको कुल पुरस्कार राशि ३१ लाख ४० हजार रुपैयाँ रहेको छ।
२०६९ सालमा लिगको पहिलो संस्करण हुँदा कुल पुरस्कार राशि करिब २ लाख रुपैयाँ रहेकोमा हाल आएर उल्लेखनीय वृद्धि गरिएको अध्यक्ष चन्दले बताए।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ८ दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ७५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।
त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ। बाँकी रकम प्रायोजन, बोर्डकास्टिङ, टिकटिङ, शुभचिन्तकलगायतबाट प्राप्त हुने आयोजकले जनाएको छ।