काठमाडौँ। साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल प्रहरीलाई २५–२२, २६–२४ र २५–१९ को सोझो सेटमा पराजित गर्यो। एपीएफकी पूजा थारु फाइनलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्।
सातौँ संस्करणको समाप्तिमा एपीएफ छैटौँ पटक च्याम्पियन बन्यो। छैटौँ संस्करणमा मात्र एपीएफ उपविजेतामा सीमित भएको थियो। त्यो संस्करणको फाइनलमा एपीएफ न्यू डायमन्डसँग चुकेको थियो।
अपराजित रहँदै उपाधि जितेको एपीएफले राउन्ड रोविन लिगमा प्रहरी, आर्मी र न्यू डायमन्डलाई हराएको थियो। विजेता एपीएफले ४ लाख ९९ हजार तथा उपविजेता प्रहरीले २ लाख ५० हजार नगद पुरस्कार पाए।