एपीएफ र पुलिस उपाधिका लागि भिड्ने
काठमाडौँ। नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।
४ टिम सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा एपीएफ विजेता र पुलिस उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दोस्रो खेल साविक उपविजेता एपीएफ र साविक विजेता न्यू डायमन्डबीच भएको थियो। त्यसमा एपीएफले बाजी मार्दै लिगमा अपराजित रह्यो। आफ्नो र लिगकै अन्तिम खेलमा एपीएफले न्यू डायमन्डलाई २५–१६, २५–१८, १९–२५, १३–२५ र १५–११ ले पराजित गर्यो।
पुलिसकी सृष्टि खड्गी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। यसअघि एपीएफले पुलिस र आर्मीलाई हराएको थियो।पहिलो खेलमा पुलिसले नेपाल आर्मीलाई २५–१९, १७–२५, २५–१५ र २५–१३ को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
पुलिसकी लक्ष्मी चन्द ‘प्लेयर अफ दी म्याच’ बनिन्। ३ खेलमा पुलिस दोस्रो जित निकाल्दै फाइनलमा पुग्न सफल भयो। पहिलो खेलमा एपीएफसँग पराजित पुलिसले दोस्रो खेलमा न्यू डायमन्डविरुद्ध जित निकालेको थियो।प्रतियोगिताको फाइनल शनिबार हुनेछ। त्यसै दिन न्यू डायमन्ड र आर्मी तेस्रो स्थानका लागि खेल्ने छन्।
विजेताले ४ लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन्। तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने जनही २५ हजार नगदबाट पुरस्कृत हुने छन्।