काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी आर्थिक वर्षको बजेटमा नेताका नाममा हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ।
गत वर्ष राखेपले नेता तथा विभिन्न व्यक्तिका नाममा प्रतियोगिता आयोजना हुने प्रतियोगितामा डेढ करोडभन्दा माथि खर्च गरेको थियो।
गत वर्ष मदन भण्डारी स्मृति खेलकुद प्रतियोगिता सञ्चालन गर्न ५० लाख, गणेशमान सिंह स्मृति राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सञ्चालन गर्न ५० लाख, प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिताका लागि १५ लाख र रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजनाका लागि १० लाख बजेट विनियोजन गरेको थियो।
यस्तै, गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की र साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न ७/७ लाख रुपैयाँ छुटाइएको थियो।
चालु आर्थिक वर्षमा खेलकुद मन्त्रालयमा २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो। उक्त मन्त्रालयको करिब ८० प्रतिशत रकम राखेपमार्फत खर्च गर्ने छ। त्यसैले अहिले राखेपले बजेट बनाइरहेको छ।
खेलकुदमन्त्रीका स्वकीय सचिव प्रदीप ज्ञवालीका मन्त्रालयले शुक्रबारसम्म सबै योजनालाई अन्तिम रूप दिएर अर्थ मन्त्रालयमा पठाउने छ।
ज्ञवालीका अनुसार काठमाडौँ उपत्यकाभन्दा पनि मोफसललाई केन्द्रमा राखेर बजेट बनाइएको छ। 'हामीले यस पटक ई–स्पोर्ट्स, युवालाई फेलोसिप दिनेदेखि पूर्वाधार निर्माणमा केन्द्रीत हुन्छौँ,' उनले भने।