काठमाडौँ। सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल आर्मी र साविक विजेता न्यू डायमन्डबीच हुने भएको छ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुरू हुँदै छ। बुधबार २ खेल हुनेछ। अर्को खेलमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्ने छन्।
प्रतियोगितामा यी ४ टिमको सहभागिता रहने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन्। राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा हार्ने टिम फाइनलमा प्रवेश गर्ने छन्।
चारै टिमले नगद पुरस्कार पाउने छन्। विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार जित्ने छन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ।
प्रतियोगिताको उद्घाटनका अवसरमा एक राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरिने छ।