गोरखा। गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि नवलपुर र स्याङ्जा भिड्ने भएका छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका मंगलबार सम्पन्न पहिलो सेमिफाइनमा नवलपुरले तनहुँलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
पहिलो सेट २५-२२ ले जितेको नवलपुरले दोस्रो सेट पनि २५-१६ ले आफ्नो बनायो। तेस्रो तथा अन्तिम सेटमा पनि २५-१२ ले आफ्नो बनाउँदै नवलपुर उपाधिनजिक पुग्यो।
यस्तै, दोस्रो सेमिफाइनलमा म्याग्दीलाई ३-१ को सेटले हराउँदै स्याङ्जा फाइनलमा पुग्यो। पहिलो र दोस्रो सेट २८-१५ र २५-१७ ले जित्दै स्याङ्जा उपाधिनजिक पुगिसकेको थियो।
तर, तेस्रो सेटमा भने म्याग्दीले पुनरागमन गर्दै २१-२५ ले आफ्नो बनायो। चौथो सेटमा भने स्याङ्जाले २५-१७ ले पुनरागमन गर्दै फाइनलमा स्थान बनायो।
स्याङ्जाले क्वार्टफाइनलमा लमजुङलाई २५-१४ र २५-९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। यस्तै, नवलपुरले बाग्लुङलाई दोस्रो र तेस्रो सेटमा २५-१८ र १५-७ ले पराजित गरेको थियो।
पहिलो सेटमा भने बाग्लुङले नवलपुरलाई २३-२५ ले पराजित गरेको थियो। यस्तै, तेस्रो स्थानका लागि तनहुँ र म्याग्दी खेल्ने भएका छन्। क्वार्टरफाइनलमा तनहुँले आयोजक गोरखालाई २५-१९ र २५-२३ ले पाखा लगाउँदै अन्तिम चारमा पुगेको थियो।
म्याग्दीले पर्वतलाई २५-२०, ११-२५ र १५-१२ ले पराजित गरेको थियो।