गोरखा। कास्की शतप्रतिशत जितसहित गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फ क्वार्टफाइनलमा प्रवेश गरेका छन्।
समूह ‘ख’ बाट दुई खेलमा शतप्रतिशत जितसहित कास्की अन्तिम ८ मा पुगेको हो। कास्कीले समूह चरणमा मनाङ र तनहुँ दुवैलाई पराजित गरेको हो। पहिलो खेलमा कास्कीले मनाङलाई २५-५ र २५-११ ले हरायो।
यस्तै, प्रतिस्पर्धात्मक दोस्रो खेलमा कास्कीले तनहुँलाई २-१ को सेटमा पाखा लगायो। पहिलो सेट २५-२० ले गुमाएको कास्कीले दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो। यस्तै, तेस्रो तथा निर्णायक सेटमा कास्कीले तनहुँलाई १५-९ ले पराजित गर्यो।
यही समूहबाट तनहुँ पनि उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ। तनहुँले पहिलो खेलमा मनाङलाई २५-७ र २५-७ हरायो।
समूह ‘ग’ बाट नवलपुर र स्याङ्जा पनि अन्तिम ८ मा पुगेको छ। स्याङ्जाले पहिलो खेलमा २५-१३ र २५-१६ ले लमजुङलाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।
यस्तै, नवलपुरले लमजुङलाई २५-९ र २५-१३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनायो। समूह ‘क’ र समूह ‘घ’ मा दुई/दुई टोली भएको कारण सबै टोली अन्तिम ८ मा पुगेका छन्।
समूह ‘क’ बाट विजेता बन्दै म्याग्दी अन्तिम ८ मा पुगेको छ। म्याग्दीले बागलुङलाई २५-९ र २५-१४ को सेटमा पराजित गर्यो। पराजित हुने बागलुङ पनि उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ।
समूह ‘घ’ को विजेता पर्वत बन्यो। पर्वतले आयोजक गोरखालाई २५-१४ र २५-११ ले पाखा लगायो।