काठमाडौँ। धाविका सन्तोषी श्रेष्ठ प्रथम बूढानीकलण्ठ नगर शिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।
आयोजक बूढानीलकण्ठ नगरपालिका र बुढानीकलण्ठ खेलकुद विकास बोर्डले सन्तोषीलाई महोत्सवको ब्रान्ड एम्बासडरमा चयन गरेको बोर्डका संयोजक सुमन तामाङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
बूढानीकलण्ठ नगरपालिका ६ मा बस्ने सन्तोषी नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौड तथा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनकी स्वर्ण विजेता हुन्।
संयोजक तामाङले राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरको घोषणा गर्न पाउँदा गर्वको अनुभूति भएको बताउँदै महोत्सवलाई सफल बनाउन हरेक नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। उनले बूढानीकलण्ठलाई खेलकुदको हब बनाउन क्यालेन्डर तयार गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए।
सन्तोषीले ब्रान्ड एम्बासडर बनाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै खेलकुद महोत्सव खेलाडीका लागि आफ्नै कौशल देखाउने राम्रो ‘प्लेटफर्म’ भएकाले खेलाडीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरिन्।
बैशाख १५ गतेदेखि शुरू हुने महोत्सवमा विभिन्न ८ खेल समावेश गरिएको छ। कराते, तेक्वान्दो, मुवाँथाईं, कुङ फु, बास्केटबल, फुटबल, ब्याडमिन्टन र रोड रेसमा प्रतिस्पर्धा हुनेछ। रेस्लिङ र केही परम्परागत खेलको प्रदर्शनी खेल पनि हुनेछ। खेलकुद महोत्सव बैशाख १९ गतेसम्म चल्ने छ।