काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन्।
राष्ट्रपति पौडेलले दशरथ रंगशालामा आयोजित १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गरे। देशको खेलकुदको एउटा मुख्य आधारकारुपमा यो प्रतियोगिता अगाडि बढ्दै जानु सन्तोषको विषय रहेको उनको भनाइ थियो ।
‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्, कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ’, उनले भने, ‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने आधार हुन्। साथै विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् भन्ने मलाई लाग्छ ।”
पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताउँदै उनले यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, सृजनात्मक सिकाई र गरिखाने पुस्तकविहीन शिक्षाको पनि जरुरत रहेको बताए ।