गोरखा। प्रथम अन्तरपालिकास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ शहीद लखन र महिलातर्फ बारपाक सुलिकोट गाउँपालिकाले जितेका छन्।
गोरखाको सदरमुकामको हरमटारी खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा भीमसेन थापा गाउँपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै शहीद लखनले पुरुषतर्फको उपाधि जितेको हो।
प्रतियोगिता अजिरकोट गाउँपालिकाले बारपाक सुलिकोटलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो। यस्तै, महिलातर्फ बारपाक सुलिकोट गाउँपालिकाले शहीद लखनलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
तेस्रो स्थानका लागि भएको खेलमा भीमसेन थापाले पालुङटार नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्यो।
प्रतियोगितामा पुरुषतर्फ शहीद लखनका होमबहादुर मगर सर्वोकृष्ट खेलाडी बने। उत्कृष्ट स्पाइकर शहीद लखनका प्रदीप श्रेष्ठ, उत्कृष्ट सेटर शहीदकै केशवबहादुर परियार र करुण गुरुङ उत्कृष्ट डिफेन्डर बने। यसैगरी, उत्कृष्ट ब्लकर भीमसेन थापाका आशिष श्रेष्ठ, उत्कृष्ट सर्भर अजिरकोटका पवन खनाल र उत्कृष्ट प्रशिक्षक शहीदका अर्जुन श्रेष्ठ बने।
महिलातर्फ बारपाक सुलिकोटका संगिता बराममा सर्वोकृष्ट खेलाडी बनिन्। बारपाककी सर्मिला गुरुङ उत्कृष्ट सेटर, विमला गुरुङ उत्कृष्ट स्पाइकर, पूजा गुरुङ उत्कृष्ट डिफेन्डर, भीमसेनका मातृका बराम उत्कृष्ट सर्भर, शहिद लखनका स्मृति सुनार उत्कृष्ट ब्लकर बनिन्। यस्तै, महिलातर्फ बारपाक सुलिकोटका प्रशिक्षक विज्ञान कुमाल उत्कृष्ट प्रशिक्षक बने।