काठमाडौँ। सूर्यविनायक नगरपालिका–८ का आयुष प्रजापती र मध्यपुर नगरपालिका–२ की स्वर्लिन श्रेष्ठ भक्तपुरमा जारी दोश्रो भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन प्रतियोगितामा एकल तर्फको उपाधि जित्न सफल भएका छन्।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र, लोकन्थलीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयुषले मध्यपुर–९ का संयोग बस्नेतलाई २१–८, २५–२३ ले र स्वर्लिनले मध्यपुर–४ की कृषा श्रेष्ठलाई २१–९, २१–११ ले पराजित गर्दै उपाधी उचालेका हुन्।
ब्वाइज यू–१५ तर्फ मध्यपुर ७ का सक्षम कार्कीले सूर्यविनायक–५ का अक्षत ढुङ्गेललाई २१–१५, २१–१२ ले पराजित गर्दै उपाधि उचाले।
पुरुष युगलतर्फको प्रतिस्पर्धामा सूर्यविनायक–३ का रमेश बस्नेत र दीपक खत्रीले बाजी मारे। उक्त जोडीले मध्यपुर–७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीलाई २१–१७, २१–११ ले पराजित गर्दै उपाधि उचालेका हुन्।
मास्टर्स ४५ वर्ष माथिको जोडीमा मध्यपुर ८ का हरि धेके र पूर्णहरि होनाको जोडीले सूर्यविनायक–८ का डेन लामा र राकेश थापामगरको जोडीलाई २१–१८, २१–१३ ले पन्छाउँदै उपाधिमा आफ्नो नाम लेखाए।
विजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद २०, १० र ५/५ हजार रपैयाँ प्राप्त गरे।