काठमाडौँ। मध्यपुर ठिमी नगरपालिका ८ का एलेस चक्रधर र ४ का विक्की श्रेष्ठ भक्तपुरमा जारी दोस्रो भक्तपुर जिल्लाअन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम ८ मा पुगेका छन्।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र, लोकन्थलीद्वारा आयोजित प्रतियोगितामा चक्रधरले मध्यपुर १ का हरि खड्कालाई २१–१३, १६–२१, २१–१६ ले पराजित गरे।
विक्कीले भने मध्यपुर ५ का अंकित श्रेष्ठलाई २१–९, २१–१५ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरे। यस्तै, अन्तिम आठमा प्रवेश गर्ने क्रममा सूर्य विनायक ५ का सरोज खड्काले मध्यपुर ८ का अष्टमान चक्रधरलाई २१–७, २१–१० ले पराजित गरे ।
यसैगरी मध्यपुर ७ का दशरथ बूढा, ३ का स्वर्णिम गिरी र ४ का संयोज बस्नेत प्रतिद्वन्द्वीबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ८ मा पुगे ।
ब्वाइज यू–१५ एकलतर्फ भएको एकमात्र खेलमा मध्यपुर ८ का सुगम कार्कीले ३ का अनीश बस्याललाई २१–११, २१–८ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाए ।
पुरुष युगलतर्फको खेलमा मध्यपुर ठिमी ७ का भीमराज कार्की र साजन न्यौपानेको जोडीले सूर्य विनायक ८ का राजेश खाइतु र शक्ति श्रेष्ठको जोडीलाई २१–१६, २१–१२ ले पराजित गरे।
अर्को खेलमा सूर्य विनायक ३ का आशिष निरौला र अशिष निरौलाको जोडीले मध्यपुर २ का कृष्ण थापा मगर र राजु श्रेष्ठको जोडीलाई १७–२१, २१–१७, २१–१४ र सूर्य विनायक ४ का नवराज सापकोटा र प्रेम तामाङको जोडीले मध्यपुर ठिमी ५ का दीपक श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–७, २१–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।
यसैगरी मास्टर्स युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा सूर्य विनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडी, मध्यपुर १ का दीपक खनाल र मनिष पराजुलीको जोडी, सूर्य विनायक ४ का केशव कार्की र भजेश खड्का, मध्यपुर १ का मोहन कबे र श्याम बहादुर थकुलाको जोडी, मध्यपुरकै प्रेमभक्त जैना र सुरेशकुमार श्रेष्ठको जोडी, सूर्य विनायक ४ का उमेश कार्की र उमेश खड्काको जोडी, ८ का दीपक बस्नेत र राजेश धिमसुको जोडी, मध्यपुर ८ का हरि धेके र पूर्णहरि होनाको जोडी पनि क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भए।