काठमाडौँ। सातौँ स्व.नीलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा पुरुषतर्फ सरोज मानन्धर र महिलातर्फ जुनिता श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन्।
नयाँ वर्ष २०८१ को अवसरमा नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले आयोजना गरेको प्रतियोगितामा विजेता बनेका सरोजले १० हजार र जुनिताले ७ हजार रुपैयाँ प्राप्त गरे।
खुला रूपमा क्लबका प्रशिक्षार्थीहरूबीच गरिएको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने सरोजले बेन्च प्रेस, स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३५०.२८ किलोग्राम तौल उचाले। त्यस्तै, दोस्रो हुने दिलेन्द्र महर्जनले ३४५.०६ केजी र तेस्रो हुने सन्तोष गिरीले ३२०.३६ केजी तौल उचालेर क्रमशः ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे।
त्यसैगरी, महिलातर्फ प्रथम हुने जुनिताले २१३.१३ किलोग्राम उचालेकी थिइन्। दोस्रो हुने एनी सायराले १६०.६३ केजी र तेस्रो हुने पूजा सुनुवारले १४६.३६ केजी भार उचालेकी थिइन्।
महिलातर्फ दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच र तीन हजार नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी डेमोस्ट्रेसन प्रतिस्पर्धाको रूपमा खेलाइएको डेडलिप्टको एकल स्पर्धामा सर्वाधिक २१० केजी भार उचालेर सबिन परियारले १० हजार रुपैयाँ जिते।