काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानको जिम्मा फेरि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई नदिइने बताएका छन्।
राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि एन्फाले मर्मतसम्भार तथा संरक्षण गर्दै आएको थियो।
तर, मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएको भन्दै राखेप गत चैत ६ गते आफैँले संरक्षण गर्ने निर्णय गरेको थियो। त्यसयता राखेप आफैँले मैदानको मर्मतसम्भार तथा संरक्षण गर्दै आएको छ। यद्यपि, यो निर्णय नउल्टिने उनले जानकारी दिए।
‘भोलिको दिनमा यो निर्णय उल्टिँदैन। एन्फालाई फेरि दिने भन्ने हुँदैन। यहाँको रंगशलाको हकमा राखेप आफैँले मैदानको मर्मतसम्भार, संरक्षण र सञ्चालन गर्छ,’ उनले भने।
फुटबलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि स्तर निर्धारण गर्न राखेप आफैँले मैदान लिनुपरेको उनले बताए।
‘भोलि गएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्न सकियोस् भनेर स्तर निर्धारण गर्न लागिएको हो। विगतमा एक थिति बनेको थियो। त्यो नदोहोरियोस् भनेर राखेप आफैँले निर्णय लिन परेको थियो,’ उनले भने।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरूको संरक्षण र संवर्द्धन राखेपले नै गर्ने उल्लेख छ। उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवश्यक पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको उनले बताए।