काठमाडौँ। चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस सुरू भएको छ। शुक्रबार बिहान ८ बजे इचङ्गुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड शुरू गरिएको हो।
शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपालसहित १६ मुलुकका ३२४ धावकहरू सहभागी छन्। जसमा ४० जना विदेशी धावक छन्। यस्तै, २८९ जना महिला र ३५ जना पुरुष धावक छन्। विभिन्न चरणमध्ये सय माइलको दौडमा ४ महिलासहित १८ धावक सहभागी छन्।
यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इन्डिया, बेलारुस, इन्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए ।
सय माइलको यस रेसमा चर्चित धावकहरू प्रिया राई, मसफुमी यमाटो, मनकुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोकलगायत अतिथि सहभागी छन्। अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले पनि यस रेसमा सहभागिता जनाएकी हुन्।
धावकहरूले काठमाडौँ उपत्यका वरिपरिका ७ प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फुल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दूरी पार गर्नेछन्।
'यो रेस सगरमाथाको भन्दा बढी उचाइ गेन गरिने रेस हो,' एसिया ट्रेल मास्टर च्याम्पियन रसिला तामाङले भनिन्, 'सय माइलको मञ्जुश्री ट्रेल रेस पार गर्दा विभिन्न चुचुरा चढ्ने र झर्ने गरेर १२ हजार ६९५ मिटरको उचाइ गेन गरिन्छ।'
यस्तै, आजै राति ८ बजे १०० किलोमिटरको दौड झुलेबाट, भोलि शनिबार बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आबद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डल्लुबाट शुरू हुँदै छ।
यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो। यसमा १०० जना धावक सहभागी हुँदै छन्। त्यसैगरी, शनिबार कालु पाँडे डाँडाबाट १० किमीको रेस शुरू भई सिंगल ट्रीमै सकिने अध्यक्ष थापाले जानकारी दिए।
अध्यक्ष थापाका अनुसार यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोट खेलका रूपमा समेत मान्यता रहेको छ।