३ हजार ५० मिटर उचाइमा मोटोखाना रेस

काठमाडौँ। ३ हजार ५० मिटर उचाइमा मोटोखाना रेस सम्पन्न भएको छ। ट्रान्स हिमालय एड्भेन्चरले बुधबार मुक्तिनाथनजिकै सेल्फी डाँडामा उक्त रेस आयोजना गरेको हो।
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा आबद्ध क्लबहरूमा यो सम्भवतः सबैभन्दा उचाइमा भएको अफिसियल रेस हो। ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरूको टोली बुधबार मुस्ताङको मुक्तिनाथ पुगेको थियो। गत सोमबार काठमाडौँबाट प्रस्थान गरेका राइडरहरूको टोली पोखरा,बेनी हुँदै मुक्तिनाथ पुगेका हुन्।
मुक्तिनाथनजिकै सेल्फी डाँडामा राइडरहरूका बीच ट्रेल बाइक रेस प्रतियोगितासमेत आयोजना गरिएको थियो। यसैगरी, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्टसम्बन्धी विभिन्न क्रियाकलापसमेत आयोजना गरिएको थियो।
करिब ३ हजार मिटर उचाइमा भएको सो प्रतियोगिताका विजेताहरूलाई पोखरामा आयोजना हुने कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटर साइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष रौनियारबाट पुरस्कृत गरिने छ।
अब राइडरहरू फेरि जोमसोम, बेनी, कुस्मा हुँदै पोखरा फर्किने छन्। पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ।
राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकल सीप आदिमा सहभागी भएका छन् र विजेताहरूलाई पुरस्कृत गरिने बताइएको छ।











-1765627825694.jpeg&w=3840&q=75)


