इलाम। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताएका छन्। इलाममा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्।
मन्त्री श्रेष्ठले खेलको बारेमा जानकारी नभएको व्यक्तिलाई विभिन्न निकायहरुमा नियुक्ति भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाएको बताए। उनले खेलाडीहरुलाई पछाडि पार्ने र नियुक्ति गरिएका व्यक्तिलाई बढी पारिश्रमीक दिनेगरी अघि बढिरहेको अवस्थालाई रोकोर आफूले अहिले खेलाडीहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जिकिर गरे।
उनले सरकारी जग्गाहरु हडपेर निजी स्वार्थका लागि आर्थिक उपर्जन गर्ने काममा लागेको पाइएको बताए। उनले अन्तर्राष्ट्रिय जगत नेपालको खेल जगतमा काम गर्न तयार रहेको भएपनि नेपालका नीतिहरु र पहिलाका विकृतिहरुले आउन असहजता देखाइरहेको बताए। मन्त्री श्रेष्ठले नेपालको खेल जगतमा काम गर्न आउनका लागि अन्तर्राष्ट्रिय जगतलाई उचित वातावरण बनाउने काम भइरहेको पनि बताए।