इलाम। ‘एनएसजेएफ झापा स्पोर्ट्स अवार्ड २०७९’ चैत अन्तिम साता हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च झापाले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्ड चैत २९ गते बिहीबार हुने जानकारी दिएको हो।
२०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो। बिर्तामोडमा आयोजना हुने अवार्ड २०७९ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव तथा खेल प्रतिभा छनोट उपसमिति संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए।
अवार्ड स्वर्गीय फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ। कोशी प्रदेशमै पाँचौँपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो।
झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ। विगतका वर्षमा जस्तै यसपटक वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट युवा वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, स्पेसल अचिभमेन्ट अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डगरी ७ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए।
यो वर्षदेखि एउटा विधा थप गरिएको मञ्चका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिए। पाँचौँ संस्करणमा एकजना खेलकुद पत्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्डसमेत प्रदान गरिने उनले बताए।
वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ। यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी शुरू गरिसकेको बताइएको छ। स्पेसल अचिभमेन्ट अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट खेलकुद पत्रकार अवार्डको विजेता भने कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ।
वर्ष खेलाडी पुरुष र महिला विजेतालाई १ लाख रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। युवा, प्रशिक्षक र पिपल्स च्वाइस र स्पेसल अवार्ड विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ।
अवार्डलाई सफल बनाउन अध्यक्ष इन्द्रजित मुखियाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। मञ्चका सम्पूर्ण सदस्य समितिका सदस्य रहनेछन्। मञ्चका सचिव चिरञ्जीवी घिमिरेको संयोजकत्वमा खेल प्रतिभा छनोट समिति गठन गरिएको छ। सदस्यहरूमा पुष्प बराल र राजु पौडेल छन्।