इलाम। सुर्खेतमा हुने प्रतियोगिताका लागि कोशी प्रदेश रग्बीले चुलाचुलीमा क्लोज क्याम्प शुरू गरेको छ। सुर्खेतको कालिन्चोक रग्बी रंगशालामा चैत अन्तिम सातादेखि आयोजना हुने प्रतियोगिताका लागि बिहीबारदेखि क्लोज क्याम्प शुरू गरिएको हो।
चुलाचुली–४ स्थित बाल ज्योति माविको खेल मैदानमा प्रदेशको महिला तथा पुरुष रग्बी खेलाडीहरूले तयारी गरिरहेका छन्। कर्णाली प्रदेश खेलकुद परिषद्को आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ७ प्रदेशका ७ टोलीका साथै तीन विभागीयले सहभागिता जनाउने छन्।
प्रतियोगिता चैत २७ र २८ गते सञ्चालन हुने छ। प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुनेले अन्तर्राष्ट्रिय स्तरको एशियन रग्बी सेभेन्स ट्रफी (एआरएसटी) खेल्नेछन्। जसको आयोजना केही समयपश्चात् काठमाडौँमा हुने प्रशिक्षक विक्रम पुरीले जानकारी दिए।
कोशी प्रदेशबाट हाल झापा, मोरङ उदयपुर इलाम र पाँचथरगरी ५ जिल्लाका खेलाडीहरू सहभागी छन्। अन्य जिल्लाहरूलाई बिस्तारै समेट्दै लैजाने योजना रहेको टिम म्यानेजर एवम् इलाम रग्बी संघका अध्यक्ष बिजु लिम्बुले बताए।