काठमाडौँ। मोटो क्रस रेस ट्र्याक डर्ट टेम्पलले डिटी ९७७ एमएक्स च्याम्पियनसिप सिरिजको शुरूआत गरेको छ। जनवरीदेखि शुरू भएको यो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटो क्रस रेसिङ च्याम्पियनसिप हो।
यस च्याम्पियन सिरिजको तेस्रो रेससम्म पूरा भइसकेको छ। चौथौँ रेस मार्चको २८ र ३० गते हुने छ भने फाइनल अर्थात् पाँचौँ रेस अप्रिलको २५ र २७ गते धुलिखेलमा हुने छ।
हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्ट्सले अगाडी रहेका छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंक्तिमा रहेका छन्।
'यो च्याम्पियनसिप नेपाली मोटो स्पोर्ट्सका लागि महत्त्वपूर्ण उपलब्धि हो,' डर्ट टेम्पललका इजब बरुण भन्छन्,'हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटो क्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिरहेका छौँ।'
यस सिरिजमा दुई वर्ग रहेका छन्। खुला वर्गका लागि स्टक २५० सिसी मोटरसाइकलमा चढ्ने नयाँ रेसरहरू छन् भने एलिट वर्गमा प्रोफेसनल रेसरहरू छन्।
२९ जना रेसरहरूमध्ये एलिटमा ९ र २० जना खुला वर्गमा रहेका छन्। उनीहरुले रेसपछि उपाधि र नगद पुरस्कार जित्नेछन्। साथै एलिट वर्गको एक विजेताले भने क्रसफायर ट्र्याकर २५० मोटरसाइकल पाउनेछन्।