काठमाडौँ। तीव्र गतिका बलर सोमपाल कामीले आयरल्यान्ड वुल्भ्ससँगको दोस्रो टी–२० खेलमा प्राप्त गरेको रकम बेवारिसे र सडक कुकुरलाई खर्चिने भएका छन्।
मंगलबार सम्पन्न दुई खेलको शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गरेको थियो। योसँगै पहिलो खेलमा आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको नेपालले शृंखला २–० ले आफ्नो पक्षमा बनाएको थियो।
मंगलबार सम्पन्न खेलमा सोमपालले २.३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएका थिए। बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेसँगै उनले ‘मोस्ट भ्यालुएबल प्लेअर अफ दी म्याच’ घोषित भएका थिए। त्यसबापत उनले ७ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए।
उक्त रकम श्रीस् एनिमल रेक्यु संस्थालाई दिएको सोमपालले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
‘म यो रकम सयौँ छोडिएका र सडक कुकुरहरूको आश्रयको लागि श्रीस् एनिमल रेक्युलाई दान गर्नेछु,’ उनले लेखेका छन्।