काठमाडौँ। नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेका आदिल अन्सारीसहित पाँच जनाले सफाइ पाएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले सोमबार दाबी नपुगेको भन्दै आदिलसहित पाँच जनालाई सफाइ दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
गत पुसमा त्रिवि क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आदिलसहित पूर्व खेलाडी महबुब आलम र नितेश गुप्तालाई पक्राउ गरेको थियो। बिचौलिया भनिएका नवीन कँडेल र रवि माझी भने फरार थिए।
उनीहरूसहित नेपाल टी-२० लिगका आयोजक सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीय नागरिकहरू समीर शेख, वीरेन्द्र शाह र विकाश ध्यानीविरुद्ध गत वर्षको फागुन ८ गते काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
यद्यपि, विदेशीको हक भने यकिन नाम थर, वतन खुलेको अवस्थामा वा नेपालमा पक्राउ परेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय गर्दै सरकारी वकिल कार्यालयले आदिलसहित पाँच जनाविरुद्ध मात्रै मुद्दा दर्ता गरेको थियो।
तर, गत वर्षको फागुन ९ गते आदिल, महबुब र नितेशलाई जिल्ला अदालतले जनही ३ लाख धरौटीमा छोडेको थियो।
योसँगै आदिललाई राष्ट्रिय टोलीमा पुनरागमन गर्ने बाटो खुलेको छ। आदिलले सन् २०२२ मा अमेरिकामा आयोजना भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोलीविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
उनले ब्याटिङतर्फ एक दिवसीयमा ५ इनिङ्स खेल्दा ७०, टी२० आईमा ११०, लिस्ट ए मा ७२ र टी २० खेलमा १८७ रन बनाएका छन्। बलिङतर्फ एक दिवसीयमा ६ इनिङ्स खेल्दा ६ विकेट, टी-२० आईमा ५, लिस्ट ए मा ६ र टी-२० मा ५ विकेट लिएका छन्।