काठमाडौँ। नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।
संघका अध्यक्ष देवी आचार्यको नेतृत्वमा गएको टोलीले बिहीबार युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा मन्त्री श्रेष्ठसँग भेट्दै १० बुँदे ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा नेपाल पारालम्पिक कमिटी र राष्ट्रिय पारालम्पिक कमिटीको विवादले गर्दा खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन वञ्चित हुनुपरेको, पर्याप्त बजेट उपलब्ध नभएको र निर्देशिकाहरू उल्लेख छ।
यस्तै, ह्विलचियर प्रयोगकर्ता खेलाडी तथा दर्शकहरूका लागि सहज आवतजावतका लागि ३० फिटभन्दा नबढ्ने गरी र्यापको व्यवस्था गरिदिन माग गरिएको छ।
‘एक तल्लाबाट दोस्रो तल्लामा जानुपर्ने अवस्थामा सम्भव भएसम्म र्याप या लिफ्टको व्यवस्था हुनुपर्ने छ। सिढीको स्थानमा ऱ्याम्पको प्रयोग गर्ने, शौचालयमा ३ फिट चौडाइ नघटाई स्लाइडिंग ढोका प्रयोग गर्नुपर्ने, कम्वोटको छेउमा साइड हेन्डिल प्रयोग गर्नुपर्ने र र्याम्पको दुवै साइडमा बारको व्यवस्था गर्नुपर्ने,’ ज्ञापनपत्रमा भनिएको छ।
सामान्यतया शौचालय, बाथरुम तथा प्यासेजमा ह्विलचियर १८० डिग्रीमा घुमाउनका लागि कम्तीमा ६/६ वर्ग फिटको व्यवस्था गर्दिन संघले माग गरेको छ।
ढोकाहरूको चुकुल तथा लक ३ फिटभन्दा माथिको उचाइमा रहेको ध्यानाकर्षण गराइएको छ। अपांगता भएका महिला खेलाडीहरूको लागि चेन्जिङ रुम र महिला खेलाडीका लागि आवश्यक पर्ने स्यानिटरी प्याड आदिको व्यवस्था गर्दिन पनि संघले माग गरेको छ। मन्त्री श्रेष्ठले ज्ञापनपत्र बुझ्दै आफूले गर्न सक्ने कामहरू गर्दिने बताए।
‘तपाईँहरूले भन्नुभएको कति कुरा पूरा गर्न सक्छु म हेर्छु। किनभने म यो काम गर्दिन्छु त्यो काम गर्दिन्छु भनेर कसैलाई पनि झुटो आश्वासन दिन्न। त्यसले मबाट सम्भव हुने जति काम गर्छु। म बजेट निर्माण गर्ने बेलामा आएको छु। त्यसैले सबैलाई समय दिन सकिरहेको छैन। अबको बजेटमा तपाईँहरूको संघलाई पर्याप्त बजेटको व्यवस्था गर्ने छु,’ उनले भने।
ज्ञापनपत्र बुझाउन अध्यक्ष आचार्यसँगै संघका महासचिव दिलीप सापकोटा, एबीलिस फाउन्डेसनका अध्यक्ष डा वीरेन्द्रराज पोखरेल र नेपाल पारालम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायत पुगेका थिए।