कास्की । पोखरा राइडर्स क्लबको आयोजनामा पोखरामा पहिलोपटक मोटर स्पोर्ट्सको मार्सल तालिम सञ्चालन गरिएको छ । चैत्र २३ र २४ मा हुने पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिपको लागि आवश्यक मार्सलका लागि तालिम संचालन गरिएको हो ।
गण्डकी अटोमोबाइल एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठको उपस्थितिमा भएको तालिममा ३५ पुरुष र १० महिलालाई गरी ४५ जनालाई बेसिक मार्सल तालिम प्रदान गरिएको आयोजकले जनाएको छ ।
अध्यक्ष श्रेष्ठले खेलाडीको कुशलता, सृजनशीलता र साहसको संयोजन रहेको रेसिङले युवाहरुमाझ छुट्टै पहिचान बनाएर पोखरा र नेपालको पर्यटनमा टेवा पु¥याउन सक्ने क्षमता रहेको बताए ।
पोखरा मोटो इन्डुरा क्रसको लागि खेलाडीको सुरक्षा, कम्पिटिसनको फेयरनेस र आवश्यक प्राविधिक जनशक्तिको लागि तालिम अत्यन्त फलदायी रहेको कार्यक्रम सञ्चालक जगत धोलीले बताए ।
नेपाल अटोमोबाइल एसोसिएसनका मार्सल तथा ट्रेनिङ कमिसनबाट आएका प्रशिक्षक यदुराज लामिछाने, आशिष रौनियार र क्षितिज श्रेष्ठले रेसमा प्रयोग हुने झण्डा, साइन सिग्नल, सेफ्टी गियर ग्याजेट्स, इमरजेन्सी रेस्पन्स, इभेन्ट रिर्पोटिङ्ग र मार्सलको भूमिकाको बारेमा प्रशिक्षण दिएका थिए ।
क्लबका अध्यक्ष सोनिक क्षेत्रीले नेपाली युवाहरुमा साहसीक खेलकुद प्रतिको रुचि अत्याधिक बढिरहेको अवस्थामा पोखराको बाम्दि भिर र खोला किनारको क्षेत्र प्रयोग गरी सञ्चालन गर्न लागिएको प्रतियोगिताले पोखरा नयाँ आकर्षण केन्द्र बन्ने बताए ।