पाल्पा । एपीएफ क्लबले पहिलो संस्करणको लुम्बिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
पाल्पाको रामपुरमा बुधबार बागमती प्रदेशलाई ३–२ को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
पहिलो दुई सेट १८–२५ र १७–२५ ले गुमाएको एपीएफले त्यसपछि लगातार तीन सेट जित्दै उत्कृष्ट पुनरागमन रचेको हो ।
तेस्रो सेट २५–१९, चौथो सेट २५–१७ र अन्तिम सेट १८–१६ मा एपीएफले जित निकाल्यो ।
उपाधि सहित एपीएफले २ लाख ५० हजार प्राप्त गरेको छ । बागमतीले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
बुधबारनै तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीले कोशी प्रदेशलाई हरायो ।
तेस्रो बनेको लुम्बिनीले ७५ हजार र चौथों बनेकोे कोशीले ३५ हजार रुपैयाँ प्राप्त गर्यो ।
विजेता खेलाडीलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई लगायतले पुरस्कृत गरेका थिए ।
पाल्पा जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद परिषदले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।