पाल्पा । पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुधबार एपीएफ र बागमती प्रदेश भिड्दैछन् ।
लुम्बिनीलाई सोझो सेटमा पराजित गर्दै बागमती प्रदेशले फाइनलमा स्थान बनाएको थियो । एपीएफले कोशी प्रदेशलाई सोझो सेटमा हराएर फाइनल प्रवेश गरेको थियो ।
कुल ८ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले २ लाख ५० हजार, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
एपीएफका प्रशिक्षक महेश चौधरीले फाइनलका लागि आफुहरु तयार रहेको बताए । 'हामी जितको लागी खेल्नेछौ र उपाधिको दावेदार पनि हौ ।' चौधरीले भने ।
बागमती प्रदेशका प्रशिक्षक कुमार राईले फाइनल खेलमा एपीएफलाई कडा टक्कर दिने बताए । 'पछिल्ला ४ पटकको उपाधि भिडन्तमा एपीएफले बाजी मारे पनि यस पटक हामीले कडा टक्कर दिने छौ ।' उनले भने ।
प्रतियोगितालाई गत शुक्रबार लुम्बिनी प्रदेशका मन्त्री सिके गुप्ताले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।