पाल्पा । पहिलो संस्करणको लुम्बिनी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश र एपीएफले दोस्रो जित निकालेका छन् ।
रामपुरमा जारी प्रतियोगितामा बागमतीले कोशी प्रदेश र एपीएफले लुम्बिनी प्रदेशलाई हराएका हुन् ।
दोस्रो जित निकाल्ने क्रममा बागमतीले कोशीलाई ३–० को सोझो सेटमा हरायो । बागमतीले कोशीलाई २५–०, २५–६ र २५–८ को सेटमा हराएको हो । बागमतीकी प्रगति नाथ प्लेयर अफ द म्याच घोषित भईन् ।
अर्को खेलमा एपीएफले लुम्बिनीलाई २५–१०, २५–१३ र २५–१३ को सेटमा हराएको थियो । निरुता ठगुन्ना प्लेयर अफ द म्याच चुनिएकी थिईन् ।
बिहानको पहिलो खेलमा कोशी प्रदेशले चार सेटको खेलमा मधेशलाई हरायो । पहिलो सेट २५–२३ ले गुमाएपनि २–२५, २५–१८ र २५–१८ ले तीन सेट लगातार जित्दै कोशी प्रदेशले जित हासिल गरेको हो ।
गण्डकी प्रदेशले पहिलो जित निकाल्ने क्रममा कर्णाली प्रदेशलाई २५–१२, २५–१४ र २५–२० को सेटमा पराजित गर्यो ।सुदूर र मधेशबीच भएको अन्तिम खेल खराब प्रकाशका कारण रोकिएको थियो ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथों हुनेले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भैरहेको छ ।
प्रतियोगिताको समूह एमा एपीएफ, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश छन् ।
समूह बीमा बागमती, सुदूर, मधेश र कोशी प्रदेश छन् ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई शुक्रबार लुम्बिनी प्रदेशका मन्त्री सिके गुप्ताले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।