काठमाडौं । दोस्रो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ ।
नेपाल डोरी तान संघको आयोजनामा शनिबार विराटनगरमा भएको फाइनलमा कोशी प्रदेशले विभागीय टोली एपीएफलाई २–० को सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।
प्रतियोगितामा कोशी प्रदेश, बाग्मती प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली गरी पाँच प्रदेश र तीन विभागीय टोली गरी आठ टिमको सहभागिता रहेको थियो ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिगका आधारमा खेल सञ्चालन गरिएको थियो ।
समूह कबाट पहिलो भएर कोशी प्रदेश र दोस्रो भएर पुलिलस सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह खबाट पहिलो भएर एपीएफ र दोस्रो भएर मधेस प्रदेश सेमिफाइनलमा प्रवेश गरेको थियो ।
पहिलो सेमिफाइनलमा कोशी प्रदेशले पुलिसलाई २–० को सेटले पराजित गरेको थियो । दोस्रो सेमिफाइनलमा एपीएफले पुलिसलाई २–० को सेटले पराजित गरेको थियो ।
विजेता टोली कोशी प्रदेशले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता टोली एपीएफले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद ५० हजार रुपैयाँ प्राप्त गरेको नेपाल डोरी तान संघका महासचिव विमल पौडेलले जानकारी दिए ।
विजेता तथा उपविजेता टोलीलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेस कोइरालाले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको संयोजन तथा व्यवस्थापन कोशी प्रदेश डोरी तान संघले गरेको हो ।