काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा तेश्रो भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जनकपुरमा भइरहेको प्रतियोगितामा शनिबार सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले पराजित गर्यो ।
सुदूरपश्चिमकी बुलबुल कुमारीले ह्याट्रिक गरिन् भने गंगा भाटले २ गोल थपिन् । सुदूरपश्चिमकी आशिका एसके ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । सुदूरपश्चिमले ५० हजार नगद पुरस्कार पाउने छ ।
फाइनल आइतबार हुनेछ । नेपाल आर्मी र आयोजक एकेडेमीले फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी ८ टिम सहभागी छन् ।