काठमाडौं । पहिलो संस्करणको लुम्बिनी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश, एपीएफ र लुम्बिनी प्रदेशले जित निकालेका छन् ।
पाल्पाको रामपुरमा शुक्रबार भएको प्रतियोगितामा बागमतीले सुदूरपश्चिम, एपीएफले कर्णाली र लुम्बिनीले गण्डकी प्रदेशलाई हराएका हुन् ।
पहिलो खेलमा बागमतीले सुदूरलाई ३–० को सोझो सेटमा हरायो । एकतर्फी जित निकाल्ने क्रममा बागमतीले सुदूरलाई २५–३, २५–५ र २५–३ को सेटमा हरायो । बागमतीकी जेनिशा विश्वकर्मा प्लेयर अफ द म्याच घोषित भईन् ।
दोस्रो खेलमा एपीएफले कर्णालीलाई २५–९, २५–५ र २५–१० को सेटमा हरायो । एपीएफकी रस्मिता दुरा प्लेअफ अफ द म्याच घोषित भईन् ।
तेस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई २५–९, २६–२४ र २५–९ को सेटमा हराएको छ । लुम्बिनीका मिना सुनार प्लेयर अफ द म्याच घोषित भईन् ।
प्रतियोगिताको दोस्रो दिन कुल ५ खेल हुनेछ ।
मधेशले कोशी, कर्णालीले गण्डकी, बागमतीले कोशी, एपीएफले लुम्बिनी र सुदूरपश्चिमले मधेश प्रदेशविरुद्ध खेल्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथों हुनेले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भैरहेको छ ।
प्रतियोगिताको समूह एमा आर्मी, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश छन् ।
समूह बीमा बागमती, सुदूर, मधेश र कोशी प्रदेश छन् ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई शुक्रबार लुम्बिनी प्रदेशका मन्त्री सिके गुप्ताले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य प्रबर्द्धको रुपमा सहयोग गरेको हो ।