काठमाडौं । ललितपुरका प्रफुल महर्जन र भोजपुरकी नङ्गशल तामाङ्गले १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा शीर्ष ८ को एकल तर्फ दोश्रो दिन पनि जित हात पारेका छन् ।
प्रफुलले पुरुष एकल तर्फको खेलमा एपीएफका देवराज रानालाई २१–१३, १३–२१, २१–१३ ले र नङ्गशलले महिला एकलमा एपीएफकी शोभा गौचनलाई २१–१६, २०–२२, २१–११ ले पराजित गर्दै लिगमा दोश्रो जित निकालेका हुन् ।
यस्तै लिगको पुरुष एकल तर्फ एपीएफका प्रिन्स दाहालले एपीएफकै बिजित थापा मगरलाई २१–११, २१–११, नेपाल पुलिसका सुनिल जोशीले पुलिसकै जीवन आचार्यलाई २१–१३, २१–१७ र पुलिसका बिष्णु कटुवालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१६ ले पराजित गरे ।
महिला तर्फको खेलमा ललितपुरकी रसिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६, २१–३, आर्मीकी अनुमाया राईले मोरङ्गकी सिमा राजबंशीलाई २१–१८, २१–१६ र पुलिसकी निता लम्सालले आर्मीकी अमिता गिरीलाई २१–१४, २१–१७ ले पराजित गरिन् ।
शीर्ष ८ देखि बाहेकको पुरुष एकल तर्फको खेलमा एपीएफका क्षितीज खनालले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१०, आर्मीका सुविन श्रेष्ठले देबीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरलाई २१–१९, २१–१०, आर्मीकै लक्ष्मण रानाले पुलिसका हिरा राईलाई १७–२१, २१–९, २३–२१ र पुलिसका पुर्ण बहादुर थापाले देबीनगर ब्याडमिन्टन क्लबका अमन भट्टलाई २१–१२, २१–१४ ले पराजित गर्दै प्रिक्वाटरफाईनलमा स्थान बनाएका छन् ।
एमाले निकट नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजना तथा चन्द्रगिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।