काठमाडौं । प्रिया राई र करण रावलले दुगनागढी माउन्टेन ट्रेल रेसको उपाधि जितेका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा महिलातर्फ प्रिया र पुरुषतर्फ करण विजेता बनेका हुन् ।
महिला स्पर्धामा खोटाङकी प्रियाले निर्धारित दुरी २ घण्टा ५७ दशमलव ५० मिनेटमा पार गर्दै पहिलो बनिन् ।
धादिङकी रसिला तामाङले निर्धारित दुरी ३ घण्टा २ दशमलव ४० मिनेटमा पुरा गर्दै दोस्रो बनिन् । प्युठानकी हुमी बुढा मगरले ३ घण्टा २ दशमलव ४२ मिनेटको समय निकाल्दै तेस्रो बनिन् ।
पहिलो बनेकी प्रियाले ६० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो रसिलाले ३५ हजार र तेस्रो हुमीले २० हजार रुपैयाँ प्राप्त गरिन् ।
पुरुष स्पर्धामा पहिलो बनेका करणले निर्धारित दुरी २ घण्टा १३ दशमलव ५२ मिनेटमा पार गरे । गोपाल तामाङले २ घण्टा १५ दशमलव ४१ मिनेटको समय निकाल्दै दोस्रो बने । तेस्रो बनेका बेद सुनुवारले निर्धारित दुरी २ घण्टा १८ दशमलव ५ मिनेटमा पुरा गरे ।
पहिलो बनेका करणले १ लाख १० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो बनेका गोपालले ७५ हजार र तेस्रो बेदले ५५ हजार रुपैयाँ प्राप्त गरेको आयोजक टिमकी सदस्य निर्मला राईले जानकारी दिएकी छिन् ।
सिन्धुपाल्चोकको चर्चित दुगुनागडी माउन्टेन ट्रेल रेसलाई नेपाल आर्मी इन्द्रध्वज गण र भोटेकोशी गाउँपालिकाले संयुक्त रुपमा मिलेर आयोजना गरेका हुन् ।