काठमाडौं । काठमाडौंमा जारी फिफ्टिन्स रग्वी च्याम्पियनसिपको अन्तिम चरणका खेल शनिबार हुदैछ । दशरथ रंगशालामा सञ्चालित प्रतियोगिताको अन्तिम चरणका दुई खेल शनिबार हुन लागेको हो ।
पहिलो खेलमा नेपाल पुलिस क्लब एपीएफ तथा दोस्रो खेलमा गोर्खाली रग्वी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । पहिलो खेल मध्यान्न साढे १२ बजे र दोस्रो खेल साढे २ बजे राखिएको छ ।
शनिबार हुने दुई खेलको नतिजाले उपाधि विजेता टोलीको टुङ्गो लगाउनेछ ।
प्रतियोगितामा गोर्खाली रग्वी अपराजित छ । उसले उपाधिको दाबेदार मानिएको एपीएफलाई हराएको थियो भने पुलिसविरुद्ध शानदार जित निकालेको थियो ।
साविक विजेता आर्मीलाई हराएर एपीएफले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको थियो तर उसले गोर्खाली रग्वीको चुनौती पार गर्न सकेन ।
गोर्खाली रग्वी उपाधिको नजिक छ, तर अन्तिम खेलमा आर्मीको फराकिलो जितले गोर्खालीलाई विजेता बन्नबाट रोक्न सक्नेछ । पहिलो खेलमा पुलिसविरुद्ध प्राप्त गर्ने जितको अन्तरले एपीएफलाई उपाधि होडमा कायम राख्नेछ ।
प्रतियोगिताका पछिल्ला चार संस्करणको आर्मी विजेता टोली हो ।
चार टिम सहभागी प्रतियोगिताको विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगितामा खेलाडीले गर्ने प्रर्दशनका आधारमा राष्ट्रिय टिम निर्माण गरिने आयोजक नेपाल रग्वी संघले जनाएको छ ।
शनिबार दशरथ रंगशालामा दर्शकले निशुल्क रग्वीको खेल हेर्न पाउने नेपाल रग्वी संघले जनाएको छ ।