काठमाडौं । पाँचौं संस्करणको फिफ्टिन्स रग्वी च्याम्पियनसिपको दोस्रो चरणको खेल बुधबार हुदैछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा गोर्खाली रग्वी क्लब र नेपाल एपीएफ क्लब भिड्दैछ। खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।
आईतबार भएको लिग चरणको पहिलो खेलमा गोर्खाली रग्वीले पुलिस र एपीएफले आर्मीलाई हराएका थिए ।
लिग तालिकामा दुवै टिमको ६ अंक रहेको छ । गोर्खाली र एपीएफ बुधबारको खेलमा जित निकाल्दै फाइनल यात्रा सहज बनाउने योजनामा छन् ।
दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । लिगको पहिलो चरण दुवै टिमका लागि सुखद रहेन ।
चार पटकको च्याम्पियन आर्मीले एपीएफसँग हार ब्यहोर्यो भने पुलिस, गोर्खालीसँग स्तब्ध बन्यो । फाइनल यात्रामा कायम रहन दुवै टिमलाई जितको आवश्यकता छ ।
प्रतियोगितामा गोर्खाली, आर्मी, पुलिस र एपीएफ गरि चार टिम सहभागी छन् । दोस्रो चरणको खेल बुधबार हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ सहित रनिङ ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा खेलाडीले गर्ने प्रर्दशनका आधारमा फिफ्टिन्सको राष्ट्रिय रग्वी टिम निर्माण गर्ने नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिएका छन् ।