धरान । होलिल्यान्ड स्कुलले मंगलबार भएको फाइनलमा प्रभात स्कुललाई ३८–२३ ले हराएर दोस्रो अन्तर विद्यालय श्रवणकुमार स्मृति डिपो बास्केटबल रनिङ कपको उपाधि रक्षा गरेको छ ।
डिपो स्कुलद्वारा आयोजित प्रतियोगिताको उपाधि होडमा होलिल्यान्डले पहिलो क्वाटरमा ६–३ को अग्रता लिएको थियो ।
उसले दोस्रो क्वाटर १९–५ ले आफ्नो पक्षमा पार्दै खेल नियन्त्रण गर्यो । तेस्रो क्वाटर ९–६ ले अगाडि रहेको होलिल्यान्डले उस्तै प्रदर्शन अन्तिम क्वाटरमा गर्न सकेन, जसको स्कोर प्रभातको पक्षमा ९–४ रह्यो ।
होलिल्यान्डका युकुहाङ लिम्बूले फाइनलमा ८ स्कोर गरे भने प्रभावशाली प्रदर्शन गरिरहेका प्रभात स्कुलका लियोन राईले सबभन्दा बढी १२ स्कोर गरे । लियोन प्रतियोगिताकै सर्बाधिक स्कोरर ९८०० को पुरस्कार हात पारे ।
होलिल्यान्डका पारस रोयले मोस्ट भ्याल्युएबल प्लेयरको अवार्ड जिते । प्रतियोगितामा १४ स्कुलले प्रतिस्पर्धा गरेका थिए ।
लगातार दोस्रोपल्ट उपाधि जितेका होलिल्यान्डले १५ हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता प्रभात स्कुलले ७ हजार ५ सय रुपियासहित ट्रफी, पदक र प्रमाणपत्र पायो ।
यस प्रतियोगिता डिपो स्कुलको विकासमा पाँच दशक योगदान गरेका दिवांगत मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा उनका परिवारको सहयोगमा गत वर्षदेखि सञ्चालन गरिएको हो ।
श्रवणको निधन कोभिड १९ संक्रमणपछि २०७८ साल साउन १५ गते भएको थियो ।