नवलपुर । पहिलो संस्करणको जी.एम. कप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । मंगलबार विभागीय डर्बीमा एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा पुलिसले २६–२४, २१–२५, २५–२१, २१–२५ र १५–१२ को सेटमा जित निकाल्न सफल भएको हो । उपाधिसँगै पुलिसले २ लाख रुपैयाँ प्राप्त गरेको छ । एपीएफले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । रबिन चन्द ठकुरी फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।
तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले नेपाल आर्मीलाई ३–२ को सेटमा हरायो । पहिलो सेट १७–२५ ले गुमाएको गण्डकीले दोस्रो सेटमा २५–१७ को जित निकाल्दै उत्कृष्ट पुनरामगन गरेको थियो । तेस्रो सेट १५–२५ ले गुमाएको गण्डकीले तेस्रो र चौथों सेटमा २८–१८ र १५–११ को जित निकालेको थियो ।
जितसँगै गण्डकी प्रदेशले ५० हजार रुपैयाँ हात पार्यो । चौथों बनेको आर्मीले २५ हजार रुपैयाँमा चित्त बुझायो ।
विधागतको पुरस्कार पुलिस क्लबको वर्चस्व रह्यो । उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ्ग, उत्कृष्ट ब्लकर पुलिसका सफल बिके, उत्कृष्ट स्पाइकर गण्डकी प्रदेशका रबी केसी र उत्कृष्ट डिफेण्डरमा एपीएफका बिनोद चन्द घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिस चन्द्र बहादुर कुँवर घोषित भए ।
विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । राष्ट्रिय खेलकुद परिषद् राखेका सदस्य सचिव टंकलाल घिसिङले विजेता टोली र खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।