काठमाडौं । गोपीचन्द्र पार्कीले लण्डन म्याराथन दौडने भएका छन् ।
नेपालगञ्ज म्याराथनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्कीले लण्डन म्याराथन दौडने जानकारी दिएको हो ।
नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विजेतालाई अन्तराष्ट्रिय स्तरको म्याराथनमा सहभागी गराउने योजना अनुसार पार्कीलाई लण्डन म्याराथनमा पठाउन लागिएको बताए ।
पार्कीलाई लण्डन पठाउन नेपालगञ्ज म्याराथनले नेपाल यूके रनसँग सहकार्य गरेको हो । पार्की लण्डन यात्राको सम्पुर्ण खर्च नेपाल यूके रनले ब्यहोर्नेछ ।
पार्कीले नवौं संस्करणको नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । उनले निर्धारित दुरी २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा पार गर्दै प्रतियोगिताको उपाधि जितेका थिए ।
नेपाल यूके रनका सन्तोष राईले नेपाली खेलाडीलाई अन्तराष्ट्रिय एक्सपोजर दिने उद्धेश्यले गठन भएको संस्थाले पार्कीलाई लण्डन पठाउन पाउँदा खुसी ब्यक्त गरे । यसले गोपीको लण्डन सहभागीताले एथलेटिक्सको खेलाडीको विकासमा ठुलो महत्व राख्ने बताए ।
राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले गोपीको तयारीमा सबै मिलेर सहयोग गर्नुपर्ने बताए । उनले आयोजक संस्था र सरकारी निकायले गोपीको तयारीलाई राम्रो बनाउन सहयोगको हात अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
लण्डन म्याराथन बैशाख ९ गते आयोजना हुदैछ । प्रतियोगितामा गोपीको नाम दर्ता भैसकेको छ भने आवश्यकता भिषा प्रकृया समेत पुरा भैसकेको नेपाल यूके रनले जानकारी दिएको छ ।